काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन्। आइतबार मनोहरा खोला नजिकको सुकुम्बासी बस्ती पुगेका प्रसाईंले बस्तीवासीको पक्षमा आवाज उठाउँदै आफू सक्रिय आन्दोलनमा संलग्न हुने घोषणा गरे।
बस्तीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले मंसिर ७ देखि सुरु हुने आफ्नो आन्दोलनमा सबैलाई सहभागी हुन आग्रह गरे। उनले सुकुम्बासीमाथि जारी हुने अन्याय सह्य नहुने दाबी गर्दै भने, “गरिबको घर भत्काउँदा तपाईंको घर नै भत्किएला भन्ने कुरा सम्झनुस्। सुकुम्बासीमाथि भइरहेको अत्याचार अस्वीकार्य छ।”
प्रसाईंले काठमाडौं महानगरपतिलाई सुकुम्बासी बस्तीमा कुनै अभियान अघि बढाउनुअघि बालमन्दिर खाली गर्न चुनौती दिए र भूमिहीनको घर भत्काउनुभन्दा पहिले घर, बाटो, बिजुली र खानेपानीको जस्ता आधारभूत सुविधा सुनिश्चित गर्न आवश्यक रहेको जोड दिए। उनले आफू गरिब र उत्पीडित वर्गको पक्षमा रहेको दोहोर्याए र भने, “तपाईंहरूले सुरक्षा दिनुभयो भने म यहीँ बसी सुकुम्बासीको सुरक्षाका लागि खटिन तयार छु।”
प्रसाईंले मंसिर ७ देखि अनिश्चितकालीन रूपमा सञ्चालन गर्ने भनिएको ‘नेपाल बन्द’ आन्दोलनमा सबैलाई साथ दिन समेत अनुरोध गरे र बस्तीवासीलाई आश्वस्त पार्ने उदेश्यले आफू सडकमा उनीहरूको साथ दिन चाहने अनुभव व्यक्त गरे।