जनकपुरधाम। रोजेको मन्त्रालय अन्य दलको हातमा पुगेपछि जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको छ। जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तोष व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन्। सोमबार सम्पन्न मन्त्री परिषद् विस्तार क्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ। २१ गते नै विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको छ, जसपछि जनमत असन्तुष्ट भएको हो।
यसैप्रति लक्षित गर्दै, विगतमा सो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमतको उपस्थिति दयनीय अवस्थामा पुगेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यस आर्थिक वर्षमा हामीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौं। तर भागबण्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अल्पत्र पार्नु हो।’
कुशवाहाले जनमत पार्टीको उद्देश्य अनुसार सरकारमा सुनिश्चिता नभए पार्टीले सरकार छाड्न तयार हुनुपर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनु पर्छ।’
हाल सातदलीय गठबन्धनमा जसपा र जनता बाहेक अन्य दलहरूले एक-एक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेका छन्। जनमतले महत्त्वपूर्ण अर्थ मन्त्रालय लिइसकेको छ, जसमा संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्री रहेका छन्।