दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ देखि ९ सम्मका काठमाडौँमा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूका लागि काठमाडौँमै भत्ता नवीकरण सहजीकरण सेवा आजदेखि सुरु भएको छ। कालिञ्चोक गाउँपालिकाको आयोजना तथा भिरामुनी सेतीदेवी एकता समाज, कालिञ्चोक–४ दोलखाको सहजीकरणमा कागेश्वरी मनोहरा नगरपालिका–७ फोर्स पार्कस्थित वडा नं. ४ का वडाध्यक्ष दीपक खुलालको घरबाट यो सेवा सञ्चालन गरिएको हो।
यो सहजीकरण सेवा भदौ १७ गतेसम्म निरन्तर चल्नेछ। गत वर्ष सञ्चालन गरिएको सेवाबाट ६६५ जना लाभग्राहीले लाभ लिएका थिए भने यस वर्ष १ हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। यसैबीच, अति अशक्त तथा घरबाट बाहिर निस्कन नसक्ने लाभग्राहीका लागि घरमै पुगेर समेत नवीकरण सेवा दिइने व्यवस्था गरिने जानकारी वडाध्यक्ष दीपक खुलालले दिएका छन्।
काठमाडौँमै सेवा उपलब्ध गराइएपछि लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नकै लागि दोलखाको कालिञ्चोक पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। यसबाट विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अति अशक्त लाभग्राहीहरूलाई ठूलो सहजता हुने अपेक्षा गरिएको छ। सेवा लिनका लागि लाभग्राहीहरूले आफ्नो नागरिकता र सामाजिक सुरक्षा भत्ता परिचयपत्र लगायतका आवश्यक कागजातहरू साथमा लैजानुपर्नेछ।