विराटनगर । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि छानबिनका लागि हिजै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका एक अधिकृत सदस्य रहेको समिति गठन गरिएको छ ।
गोली प्रहार गर्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी खड्काले जानकारी दिएका छन् । घटनालगत्तै लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सम्पूर्ण जनशक्तिलाई फिर्ता बोलाइएको छ । यसैबीच, सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले छानबिन समितिलाई सात दिनको समयसीमा दिइएको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप कदम चालिने बताएका छन् ।