सानामा इजरायली हवाई आक्रमण : यमनका प्रधानमन्त्री रहावीसहित मन्त्रीहरूको मृत्यु, देशभर आक्रोश

nepaltext.com

काठमाडौं । यमनको राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावी र मन्त्रीहरु मारिएको पुष्टि भएपछि यमनभर आक्रोश बढेको छ । यमनवासीहरुले आफ्नो सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजाप्रतिको समर्थनलाई अझै मजबुत बनाउने अठोट व्यक्त गरेका छन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार विज्ञप्ति जारी गर्दै बिहीबार सानामा उच्च तहका हुथी नेताहरु भेला भएको स्थलमा आक्रमण गरिएको जनाएकाे छ । उक्त भेलामा प्रधानमन्त्री रहावीसमेत सहभागी रहेको पुष्टि भएको हो । आक्रमणपछि इजरायली रक्षा मन्त्री इस्रायल काट्जले यसलाई “हुथी नेतृत्वमाथि अभूतपूर्व प्रहार” भन्दै “यो सुरुआत मात्र” भएको चेतावनी दिएका छन् ।

यता यमनका उप–सूचना मन्त्री मोहम्मद मन्सुरले भने, “प्रधानमन्त्री रहावी र मन्त्रीहरुको निधन ठूलो क्षति हो । तर हामीले देशको रक्षा गर्ने निर्णय गरिसकेका छौँ । हाम्रो गाजाप्रतिको समर्थन नै यमनको सार्वभौमिकता जोगाउने अंश हो,” भन्दै अडान स्पष्ट पारे ।

सन् २०२३ नोभेम्बरदेखि हुथी समूहले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । इजरायलले तीमध्ये धेरै आक्रमण अवरुद्ध गरेको भए पनि जवाफी रूपमा साना र होडेडाहसहितका हुथी नियन्त्रणमा रहेका सहरमा आक्रमण गरिरहेको छ ।

प्रधानमन्त्रीको हत्या भएको घटनापछि सानाका बासिन्दाहरु अझै दृढ बनेको बताएका छन् । स्थानीय बासिन्दा अमिन अल–जाफारीले भने, “यसले हाम्रो गाजाप्रतिको समर्थनलाई झन् मजबुत बनाएको छ । गाजा हाम्रो आत्मा हो, हामी पछि हट्दैनौं ।” अर्का नागरिक माअिन ओबेदले थपे, “यो पीडादायी छ तर हाम्रो संकल्प तोड्दैन । गाजा असफल भए हामी अरबको अस्तित्व नै हराउँछौं ।”

प्रतिक्रिया