काठमाडौं । घरेलु मैदानमा आजबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको पहिलो खेलमै नेपाल थाइल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतबार बिहान सम्पन्न खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमै मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटको सहज जित हात पारेको हो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई लक्ष्यसम्म पुर्याइन् भने नेपालका तर्फबाट बलिङमा सीता रानामगरले दुई विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमै समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउँदै सम्मानजनक स्कोरतर्फ डोर्याउने प्रयास गरिन् । थाइल्यान्डकी बलर थिपात्चा पुथावङवले चार विकेट लिँदै नेपाली ब्याटिङ लाइनअपलाई दबाबमा राखेकी थिइन् ।