चीन भ्रमणपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

श्याम खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। भदौ १४ गते चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन ओली चीन गएका थिए।

तियानजिनमा आयोजित सम्मेलनमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै अन्य मुलुकका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरेका छन्। भेटवार्ता गर्ने नेतामध्ये रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङ रहेका छन्।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत उच्चस्तरीय टोली सहभागी भएको थियो।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार मुलुक हो। चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तानसहित १० देश यसका स्थायी सदस्य राष्ट्र छन्।

प्रतिक्रिया