कालीकोटमा उकालो चढ्दै गरेको जिप भीरबाट खस्यो, तीनको घटनास्थलमै मृत्यु

nepaltext.com

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ भएको भीषण सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

सेरी–पान्तडी सडक खण्डमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप अचानक ब्याक भएर अनियन्त्रित भई भीरबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा दैलेख आठबीस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका–२ का सहचालक नवराज शाही रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

मृतक तीनै जना सेरी–पान्तडी सडक निर्माण आयोजनामा संलग्न स्काभेटर अपरेटर तथा सहचालक रहेको प्रहरीले जनाएको छ। भीरबाट शव निकालेर सडकसम्म ल्याइसकिएको र आफन्त बोलाएर पोस्टमार्टमका लागि सदरमुकाम मान्म लैजाने तयारी भइरहेको छ। दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। जीप पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा तिला नदी किनारमा फेला परेको र चालक प्रहरीको सम्पर्कमा आए पनि विस्तृत सोधपुछ बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया