काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइको चरणमा प्रवेश गरेको छ। दुर्गा प्रसाईँसहित उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको उक्त मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो। नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँसँग सम्बन्धित कारोबारबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेपछि औपचारिक अनुसन्धान प्रक्रिया अघि बढेको थियो।
सीआईबीले अनुसन्धान पूरा गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि सरकारी वकिलले सो प्रतिवेदनका आधारमा अभियोजन दायर गरेको हो। अभियोजनमा दुर्गा प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको माग गरिएको छ। यसअघि भने न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउनुपर्ने व्यवस्था पनि गरेको थियो।
अभियोगअनुसार प्रसाईँले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत गलत कारोबार देखाउने ‘राउन्ड ट्रिपिङ’, स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार गर्ने तथा अन्य शंकास्पद आर्थिक गतिविधि गरेको आरोप लगाइएको छ। उच्च अदालत पाटनमा जारी सुनुवाइले अब यो मुद्दा कुन दिशामा जाने भन्ने विषय थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।