जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृति बिना कुनै पनि सभा, जुलुस वा र्याली आयोजना नगर्न आग्रह गरेको छ।
शुक्रबार सूचना जारी गर्दै प्रशासनले शान्ति–सुव्यवस्था कायम राख्नका लागि त्यस प्रकारका कार्यक्रमहरूमा स्वीकृति नदिने निर्णय गरेको हो। प्रशासनका अनुसार शनिबार विभिन्न समूहहरूले काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्याली तथा सभा आयोजना गर्ने तयारी गरेको सूचना प्राप्त भएको छ।
‘गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि भएका तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षतिको पृष्ठभूमिमा शान्ति सुरक्षाको अवस्था संवेदनशील बनेको छ,’ सूचनामा भनिएको छ, ‘त्यसैले सार्वजनिक सम्पत्ति संरक्षण र सेवा प्रवाहलाई सहज बनाउन पूर्वस्वीकृति बिना हुने कुनै पनि र्याली, प्रदर्शन वा सभा गर्न स्वीकृति प्रदान नगरिने निर्णय गरिएको हो।’
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) तथा प्रहरी ऐन, २०१२ को दफा १९ बमोजिम सो सूचना जारी गर्दै सबैलाई पूर्वस्वीकृति बिना कुनै पनि प्रकारका कार्यक्रम नगर्न र नगराउन आग्रह गरेको छ।