११ माघ, दाङमा कार्यरत जिल्ला प्रहरी कार्यालयका एक प्रहरी जवान हरी जिसी मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका–२ रामपुर निवासी जिसी माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर बाहिरिएका थिए तर त्यसपछि तीन दिनसम्म सम्पर्कविहीन बनेका थिए । उनको स्कुटी बाटोमा फेला परेपछि प्रहरीले खोजी तीव्र बनाएको थियो र अन्ततः घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगल क्षेत्रमा उनी मृत अवस्थामा फेला परेको जनाइएको छ । स्रोतका अनुसार उनका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आईसीयूमा उपचाररत रहेकाले उनी मानसिक तनावमा थिए र बिदा माग्दा नपाएपछि थप चिन्तामा परेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको र उनको मोबाइल फोनको लक खुलेपछि मात्र घटनासम्बन्धी थप यथार्थ कारण प्रस्ट हुने बताएका छन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।