१४ पुस, विराटनगर । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि हवाई फायर गरेको छ। आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले एम्बुलेन्समा लोड गरी ओसारपसार भइरहेको गाँजा नियन्त्रणमा लिन हवाई फायर गरेको हो। उक्त क्रममा प्रहरीले दुई जनालाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई केराबारी–५ लाफा टोलमा रोक्न खोज्दा प्रहरीलाई देख्नासाथ चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू फरार हुन खोजेका थिए। त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्समा सवार दुवै जनालाई नियन्त्रणमा लिइएको छ भने एम्बुलेन्सभित्र लोड गरिएको करिब ४८० किलो गाँजा पनि बरामद गरिएको छ।
यसैगरी, शनिबार राति मोरङको जहदा गाउँपालिका–२ तारिगामाबाट प्रहरीले हवाई फायर गरी ३ सय ३० किलो गाँजासहित भारतीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पनि पक्राउ गरेको थियो। प्रहरीले पछिल्लो समय जिल्लामा लागुऔषध ओसारपसारविरुद्ध निगरानी कडा बनाएको जनाएको छ।