काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी एमालेका युवा नेता सुरेन्द्र श्रेष्ठले गरेको खुलेको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौंको रातोपुलस्थित थापाको निवासमा आगजनी गरिएको थियो।
त्यतिबेला थापाको घरमा पुगेको र आगजनीमा संलग्न रहेको प्रमाणस्वरूप एमालेका स्थानीय नेता सुरेन्द्र श्रेष्ठको तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
श्रेष्ठ ती व्यक्ति हुन्, जो काठमाडौं महानगरपालिका–३० का वडाअध्यक्षका उम्मेदवार बनेका थिए तर कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए।
उनी एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका निकट नेता मानिन्छन्।
गगन थापाले यसअघि नै आफ्नो घरमा एमालेकै कार्यकर्ताले आगजनी गरेको दाबी गरेका थिए।
कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “आगजनी गर्ने व्यक्ति तत्कालीन प्रधानमन्त्रीकै दलको र मेरो आफ्नै निर्वाचन क्षेत्रको उम्मेदवार रहेछ।”
गत २४ भदौको जेनजी आन्दोलनका क्रममा थापाको घरमा आगजनीसँगै लुटपाट समेत गरिएको थियो।
थापाले उक्त घटनामा नयाँ र पुराना राजनीतिक दलका कार्यकर्ता दुवै संलग्न रहेको आरोप लगाउँदै आएका छन्।
यसबीच, थापाको घरबाट फ्रिजलगायतका सामान चोरी गर्ने एक व्यक्ति पक्राउ परिसकेका छन् भने आगजनीमा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।