आठ पटक मुद्दा खेपेका युवक नवौं पटक चोरीमा पक्राउ

श्याम खतिवडा

काठमाडौँमा विभिन्न कसुरमा पटक–पटक प्रहरीको फन्दामा पर्दै आएका एक युवक फेरि चोरीकै आरोपमा पक्राउ परेका छन्। यसअघि आठ पटकसम्म विभिन्न मुद्दा खेपिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–८ का २३ वर्षीय अब्राहम थामी यसपटक नवौं पटक चोरी कसुरमा समातिएका हुन्। उनीसँगै दोलखाकै बिगु गाउँपालिका–८ का २३ वर्षीय गोविन थामीलाई पनि दुईवटा मोटरसाइकल चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार १५ पुसमा तीनकुनेमा पार्किङ गरेर राखिएको बा.प्र.०२–०२३ प ६२०७ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल र सोही दिन सिनामंगलमा पार्किङ गरिएको बा.प्र.०२–००२ प ०८५९ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको भन्दै उजुरी परेको थियो। ती उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्दै दुवै जनालाई पक्राउ गरेको जनाएको छ।

अनुसन्धानका क्रममा अब्राहम थामीको आपराधिक इतिहास निकै लामो देखिएको छ। प्रहरी विवरणअनुसार उनीमाथि २०७६ सालदेखि अहिलेसम्म आठ पटक विभिन्न मुद्दा चलेका छन्। २०७६ सालमै चोरी तथा डाँका, अभद्र व्यवहार र चोरीका कसुरमा तीन फरक–फरक स्थानबाट तीनवटा मुद्दा चलेका थिए। २०७७ सालमा पनि तीन फरक ठाउँबाट चोरीकै कसुरमा उनीमाथि मुद्दा दर्ता भएको देखिन्छ। त्यस्तै २०८० सालमा भने दोलखाबाट सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। नवौं पटक चोरी आरोपमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया