– श्याम खतिवडा
डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ लेखकको दोस्रो कथासङ्ग्रह हो । यसअघि प्रकाशित ‘धोको’ पछि आएको यस कृतिले नेपाली कथामा यथार्थवादी दृष्टिकोणलाई नयाँ संवेदना र सामाजिक चेतनासँग जोड्ने प्रयास गरेको छ । यसमा जम्मा २१ वटा कथाहरू समावेश छन्, जसले समकालीन नेपाली समाजका विविध आयामहरु– प्रेम, यौन, राजनीति, धर्म, अपराध, गरिबी र मानवीय अस्तित्वलाई गहिरो दृष्टिले सामाजिक धरातलमा चित्रित गरेका छन् ।
यस कथासङ्ग्रहका अधिकांश कथाहरूले आधुनिक नेपाली समाजमा देखिएका नैतिक पतन, सामाजिक विभाजन र राजनीतिक विकृतिको असर जनजीवनमा कसरी परिरहेको छ भन्ने कुरालाई उजागर गर्छन् । लेखकले पात्रहरूलाई कुनै आदर्श पात्रका रूपमा होइन, बरु सङ्घर्षरत यथार्थको प्रतिनिधिका रूपमा चित्रण गरेका छन् । कथाका घटना, पात्र र परिवेश हामीले दैनिक जीवनमा भोगेका यथार्थ हुन् ।
कथाभित्रका पात्रहरू कहिले जीवनको दोबाटोमा अल्झिएका देखिन्छन्, कहिले यौन, अपराध र वासनाको बन्धनमा बाँधिएका भेटिन्छन् । कहिले असमानताको संरचनामा प्रतिवाद गर्न खोजिरहेका छन् भने कहिले नेपाली समाजमा रहेको सामाजिक मनोवैज्ञानिक वेचैनी र नैतिक द्वन्द्वलाई सशक्त रूपमा प्रस्तुत गर्छन् ।
‘अन्त्यारम्भ’ केवल कथाहरूको सङ्ग्रह मात्र होइन, समाजका विसङ्गति र मानव मनका अन्तरद्वन्द्वहरूको दस्तावेज पनि हो । मान्छेको सामाजिक धरातलको चित्रण मात्र होइन, मनोवैज्ञानिक गहिराई खोतल्न कथाहरू केन्द्रित छन् । कतै समाजका विसङ्गति छन्, कतै लैङ्गिक हिंसाका कुराहरू छन्, कतै अधिकारमाथि धावा बोलिएका कुरा छन्, कतै राजनीतिक विक्रिति र विसङ्गति माथि प्रहार छन्, कतै व्यङ्ग्य छन् कतै समाजभित्रका वेथितिहरुमाथि असन्तुष्टि पोखिएका छन्, कतै अन्यायका कुरा छन्, कतै आर्थिक असमानताले निम्न वर्गमाथि पारेको प्रभावका कुरा छन् । कतै द्वन्द्व बोलेको छ, कतै शहरको रमझममा मानिसको दिनचर्या छ । यस्ता विषय विविधताले गर्दा कथासङ्ग्रह रोचक बनेको छ ।
लेखकले समाजका यथार्थलाई जबर्जस्ती सुन्दर देखाउने प्रयास गरेका छैनन्, बरु त्यसको कुरूप पक्ष पनि देखाएर पाठकलाई आत्मपरीक्षण गर्न आग्रह गरेका छन् । अझ भनौँ यो फोटोग्राफरले खिचेको फोटो जस्तो छ । क्यामेराले जे देख्यो, त्यसको प्रस्तुति छ । यथार्थवादी आँखाले हेर्दा यो कृति सामाजिक चेतनाको वाहक र मानवीय मूल्यको दस्तावेज हो ।
पोखरेलका कथाहरू सामाजिक यथार्थवाद र मनोवैज्ञानिक विश्लेषणको मिश्रण हुन् । पोखरेलको लेखनशैली सघन, व्यङ्यात्मक र प्रतीकात्मक छ । उनले सरल भाषा प्रयोग गरे पनि कथाको संरचनामा गहिरो अर्थ–सन्दर्भ समेटिएका छन् । पात्रअनुसार संवादहरू जीवन्त छन् । कथाहरू मझौला आकृतिका र प्रभावशाली सन्देश छोड्न सफल छन् । कथासङ्ग्रहको नाम अन्त्यारम्भले ‘अन्त्य’ र ‘आरम्भ’ को प्रतीकात्मक सम्बन्ध देखिन्छ । मान्छेको जीवनको अन्त्य भनेको आरम्भ हो र आरम्भ भनेको अन्त्य भन्दै अध्यात्म, दर्शन र सामाजिक यथार्थलाई कथामा मिश्रण गरिएको देखिन्छ । जीवनदर्शनको कोणबाट हेर्दा शीर्षक ‘अन्त्यारम्भ’ सार्थक देखिन्छ ।
भाषा र शैलीगत आँखाले हेर्दा पोखरेलको भाषा समसामयिक नेपाली जनजीवनसँग नजिक छ । न अत्यधिक कवितात्मक छ, न यान्त्रिकता नै । बरु पात्रअनुसारका बोलिबचन र संवाद देखिन्छ । पात्रले प्रयोग गर्ने संवादका माध्यमदारा उनले स्थानीय भाषिक स्वाद, मौलिक उपमा र सूक्ष्म व्यङ्ग्यको प्रयोग गरेर कथाहरूलाई जीवन्त बनाएका छन् । भाषामा रहेको स्पष्टता र वाक्यसंरचनामा रहेको लयात्मकता यस सङ्ग्रहका कथाहरूको सौन्दर्य हो ।
डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नेपाली समसामयिक कथाको फाँटमा एक गम्भीर र सशक्त हस्ताक्षरको रूपमा उभिएको कृति हो । यसले आधुनिक नेपाली जीवनका गहिरा संवेदनाहरूलाई सरल तर गहिरो रुपमा बाँधेको छ । साहित्यिक दृष्टिले, यो सङ्ग्रह यथार्थवादी परम्पराको विस्तार मात्र होइन, नेपाली कथामा मनोवैज्ञानिक र सामाजिक अध्ययनको नयाँ आयाम पनि हो । कथासङ्ग्रहले सफलता चुम्ने आसा र विश्वास गर्न सकिन्छ ।
कथाकार - डा. टीकाराम पोखरेल
कृति - अन्त्यारम्भ
विधा - कथासङ्ग्रह
प्रकाशक - सुन्दर स्वदेश पब्लिकेशन, काठमाडौँ
मल्य - रु. ४००
प्रकाशन वर्ष - २०८२
पृष्ठ - १६२