काठमाण्डौँ । राजधानीको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको आक्रमणका क्रममा प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र कागजात चोरीसम्म गरे।
आयोगका एक उच्च अधिकारीका अनुसार दिउँसोदेखि विभिन्न समूह कार्यालय पुगेर नाराबाजी गर्दै आएका थिए। सुरक्षाकर्मी र कर्मचारीले सम्झाइबुझाइ गरी पाँचवटा समूह फर्काए पनि साँझ साढे ५ बजे पुगेको भिड नियन्त्रणभन्दा बाहिर पुगेको थियो।
उक्त समूहले तोडफोडसँगै कार्यालय परिसरका गाडीमा आगजनी गर्यो। आयोगका कर्मचारीले सम्झाउने प्रयास गरे पनि ‘खुकुरी–खुँडा बोकेका प्रदर्शनकारी रक्सी सेवन गरी अन्धाधुन्ध तोडफोडमा उत्रिएका’ अधिकारीको भनाइ छ।
आगोले आयोगका ७४ वटा मोटरसाइकल, १७ गाडी र २ बस जलेका छन्। साथै, प्रशासनसहितका महाशाखामा आगजनी हुँदा पुस्तक तथा कागजात नष्ट भए।
साँझ अँध्यारो भएपछि अर्को समूह प्रवेश गरी कम्प्युटरको हार्डडिस्क, ल्यापटप र डिजिटल फरेन्सिक उपकरण चोरी गरेको आरोप छ। “कसका रेकर्ड कहाँ छन् भन्ने बुझेरै काम गरेका जस्तो लाग्थ्यो,” अधिकारीले बताए।
आयोगका शाखा कार्यालयहरू पनि प्रभावित भएका छन्। इटहरी शाखामा ५० प्रतिशत कागजात र सबै गाडी, हेटौंडामा ७५ प्रतिशत कागजात र सबै गाडी, पोखरामा सम्पूर्ण कागजात र गाडी तथा बुटवलमा २५ प्रतिशत कागजात र सबै गाडी जलेका छन्।
तर काठमाडौंको डिजिटल रेकर्ड भने जोगिन सफल भएकाले “प्रायः सम्पूर्ण काम छिट्टै सुरु हुने” अधिकारीले स्पष्ट पारे। हालसम्म पाँच–सात ल्यापटप र केही उपकरण फिर्ता भइसकेका छन्।