काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको आरोप लगाउँदै “काम गर्न नसके पद छोड्ने” वाचा सम्झाउन आग्रह गरेका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन् :
“देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ भन्ने सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्, र काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्।”
‘हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नहुँदा निराशा’
गुरुङले वर्तमान सरकारले गठन भएको दुई महिना पुग्दा पनि कुनै पनि हत्यारा वा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कारबाही नभएको आरोप लगाएका छन्।
उनले थप भनेका छन् :
“देशको हितका लागि लड्दा भ्रामक समाचार र चरित्र हत्यासम्म सहनुपर्यो। म स्पष्टीकरण दिँदिनँ किनभने कामले बोल्छ र जनताले बुझ्नेछन्। तर अब तपाईंबाट आशा मरेको छ।”
‘जनताको माग सम्बोधन नभए चुनाव हुन दिनेछैनौं’
गुरुङले २०८४ को निर्वाचन २०८२ सालमा सार्ने योजनाविरुद्ध गरिएको आन्दोलन नागरिएको आरोप असत्य रहेको स्पष्ट पारे।
उनका अनुसार, जेनजीका मागहरू र नेपाली जनताको आवाज सम्बोधन नभए चुनाव हुन नदिने चेतावनी समेत दिएका छन्।
“अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ,”
भन्दै उनले गृहमन्त्री अर्याललाई राजनीतिक जिम्मेवारी लिन आग्रह गरेका छन्।
गुरुङले प्रधानमन्त्रीलाई अप्रत्यक्ष सन्देश दिँदै भनेका छन् :
“प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी बच्छ भनेर सोच्नुहुन्छ भने त्यो भ्रम हो।”