विराटनगर। नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया धनकुटामा पुन: सुरु हुने भएको छ। यसअघि धनकुटामा भएको प्रतिनिधि छान्ने निर्वाचन विधि अनुसार नभएको भन्दै पार्टी केन्द्रीय नेतृत्वले पुन: निर्वाचनको निर्देशन दिएको हो। धनकुटामा राजेन्द्र राई समूह र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा रहेको छ।
पहिलो निर्वाचनमा राई समूहले एकलौटी गरेको आरोपमा पराजुली समूहले निर्वाचन बहिष्कार गरेको थियो। बहिष्कारको बाबजुद पनि राई समूहले प्रतिनिधि नामावली पठाएको थियो। पराजुली समूहले असन्तुष्टि व्यक्त गर्दै उजुरी दायर गरेको थियो भने मतपत्र समेत च्यातिएको घटना भएको थियो। प्रतिनिधि छान्ने प्रक्रिया विधि विपरीत भएको कारण केन्द्रले त्यसलाई मान्यता नदिएको एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जानकारी दिए। उनका अनुसार, धनकुटामा पुन: प्रतिनिधि छान्ने प्रक्रिया गरिनेछ।
त्यसैगरी, कोशी प्रदेशकै ओखलढुंगामा पनि पुन: प्रतिनिधि छान्न निर्देशन दिइएको छ।