नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको समर्थनसहित विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र त्यसको समर्थन क्रमशः विस्तार हुँदै गएको छ। विशेष महाधिवेशनलाई स्वागत गर्दै जिल्ला कार्यसमितिहरूले सहभागिताका लागि अपिल जारी गर्न थालेका छन्। कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्कीका सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, उदयपुरका सभापति हिमाल कार्कीलगायत नेताहरूले औपचारिक विज्ञप्ति नै जारी गरी विशेष महाधिवेशनको समर्थन जनाउँदै प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
नेताहरूका अनुसार हालसम्म ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा उभिएका छन्, जसले पार्टीभित्र नेतृत्व र विधान कार्यान्वयनसम्बन्धी असन्तुष्टि गहिरिँदै गएको संकेत गर्दछ। पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आउने क्रमसमेत सुरु भइसकेको छ। यद्यपि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै असहमति जनाइरहेका छन्।
यसैबीच नेता शेखर कोइरालाले विशेष महाधिवेशनलाई टकरावको माध्यम नभई पार्टी एकता जोगाउने ‘संकल्प महाधिवेशन’ मा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन्। स्मरणीय छ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। तर त्यसपछि हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि नबढाइएपछि महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी भएको निष्कर्षसहित आह्वान गरेका हुन्। विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ। केन्द्रीय नेतृत्वले सो व्यवस्था कार्यान्वयन नगरेपछि कांग्रेसभित्रको यो विवाद नयाँ चरणमा प्रवेश गरेको छ।