काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बक्यौता असुलीको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत बताएअनुसार, नेपाल विद्युत प्राधिकरणले कानूनी रूपमा चालिएका कदममा राजनीतिक हस्तक्षेपका कारण असुलीमा केही अवरोध भए पनि अब यो ठोस परिणामतर्फ अग्रसर भएको छ।
मन्त्री घिसिङले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ। केही समयअघि अवस्था यस्तो थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भइरहेका थिए। तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारीका कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अघि बढेको छ।’
साथै, उनले विषम परिस्थितिमा समेत बक्यौता रकमको किस्ता तिर्न थालेका सम्पूर्ण उद्योगीहरूलाई देशप्रतिको जिम्मेवारीबोध र सहकार्यको लागि धन्यवाद दिएका छन्।