काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। बैंकले जारी गरेको सार्वजनिक सूचनामा आजैबाट नयाँ सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको नोट प्रचलनमा आएको उल्लेख छ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, र मध्यभागमा नेपालको नक्सा तथा अशोक स्तम्भको चित्र समावेश गरिएको छ। त्यसैगरी नोटको मुख्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र राखिएको छ। दृष्टिविहीन व्यक्तिहरूले सहजै पहिचान गर्न Ashok स्तम्भ नजिकै छामेर थाहा पाउन सकिने कालो थोप्ला थपिएको बैंकले जनाएको छ।
बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र मुद्रित गरिएको छ। पुरानै रङ तथा आकारमा जारी गरिएको नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ भन्ने सरकारी ग्यारेन्टीसमेत उल्लेख गरिएको छ।
सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने प्रणाली छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर राखिएको छ भने तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर उल्लेख गरिएको छ।