बस्नेतको गढमा रास्वपाको चुनौती: भक्तपुर–२ मा महेश बस्नेतविरुद्ध राजीव खत्री

श्याम खतिवडा

काठमाडौं । भक्तपुर–२ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले राजीव खत्रीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सुरुमा खत्रीले काठमाडौं–१० बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए, तर अन्ततः उनको उम्मेदवारी भक्तपुर–२ मै टुंगिएको हो । जेन–जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै ‘जेहाद’ नै घोषणा गरेको भन्दै आलोचना भइरहेका बेला साहले ‘जसरी पनि बस्नेतलाई हराउने’ रणनीतिसहित खत्रीलाई अघि सार्न चाहेको बुझिन्छ । पूर्वसञ्चारकर्मी रहेका खत्री र बस्नेतबीच यसअघि नै सामाजिक सञ्जालमा तीखो वाकयुद्ध चल्दै आएको थियो, जहाँ खत्रीले बस्नेतमाथि कडा टिप्पणी गर्दै आएका थिए भने बस्नेतले पनि नामै किटेर जवाफ फर्काउने गरेका थिए । यही आपसी कटुताले आगामी चुनावी भिडन्तलाई थप रोचक बनाउने देखिएको छ । भक्तपुर–२ बस्नेतको परम्परागत निर्वाचन क्षेत्र हो, तर उनी अघिल्लो आमनिर्वाचनमा पराजित भइसकेका छन् । अर्कातर्फ, काठमाडौं–१० निवासी खत्री भने भर्खरै राजनीतिमा प्रवेश गरी पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिन लागेका हुन् । पार्टी सभापति रवि लामिछाने र मेयर बालेन्द्र साहबीचको छलफलपछि खत्रीलाई काठमाडौं होइन, भक्तपुरबाटै उठाउने निर्णय भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया