काठमाडौं । तरलता व्यवस्थापनलाई थप सुदृढ बनाउन नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निकालन तयारी गरेको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरण ‘निक्षेप संकलन’ प्रयोग गर्दै ४२ दिनका लागि उक्त रकम बजारबाट तान्न लागेको हो। पछिल्ला हप्ताहरूमा प्रत्येक आइतबार र बुधबार नियमित रूपमा तरलता संकुचन गर्ने अभ्यास जारी राख्दै आएको राष्ट्र बैंकले आज पनि सोही प्रक्रियाअन्तर्गत अनलाइन बिडिङमार्फत रकम संकलन गर्न लागिएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङ प्रणाली खुला हुनेछ, जसमा इच्छुक बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मका दरले आवेदन दिन सकिने व्यवस्था गरिएको छ, जसले गर्दा कुल आह्वान रकमभित्र प्रतियोगितामूलक बोलकबोल निःशेष हुने अपेक्षा गरिएको छ।
यस पटकको निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी पुस २३ गते हुनेछ। साथै, राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यो प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था रहेको छ।