राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटी स्क्यान खरिदमा १९ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

nepaltext.com

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘१२८ स्लाइस सीटी स्क्यान मेसिन’ खरिद प्रकरणमा तत्कालीन उपकुलपति प्रा.डा. संगीतासिंह भण्डारीसहित १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा खरिद प्रक्रियामा संलग्न निजी कम्पनीका प्रतिनिधिहरूलाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बिगो दाबी गरिएको छ । प्रतिवादीमध्ये तत्कालीन उपकुलपति भण्डारी, रजिष्ट्रार कैलाशप्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्रालि तथा यसका प्रतिनिधि अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलगायत रहेका छन् । अख्तियारका अनुसार गुरुयोजना र आवश्यकताको पहिचान नै नगरी सीटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको, बोलपत्र खोल्नुअघि बसेको बैठकबाट प्राविधिक स्पेसिफिकेसनमा अस्वाभाविक संशोधन गरी कुनै निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी व्यवस्था मिलाइएको तथा गुणस्तरीयताको गलत प्रतिवेदन तयार पारिएको अभियोग उनीहरूमाथि लगाइएको छ ।

प्रतिक्रिया