काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले देश संकटमा रहेको बेला आरोप–प्रत्यारोपमा नअल्झी सत्य र न्यायको पक्षमा उभिन आग्रह गरेका छन्।
उनले कांग्रेस महामन्त्री गगन थापाको हालैको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै, अपराध र हिंसामा संलग्न जो कोहीलाई पनि कठोर कारबाही गर्नुपर्ने बताएका छन्।
गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा लुटपाट र आगजनीमा एमाले कार्यकर्ता र अध्यक्ष केपी ओलीसम्मको संलग्नता रहेको दाबी गरेका थिए। सो अभिव्यक्तिपछि महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा रहँदै सत्य र न्यायको वकालत गर्न सबैलाई आह्वान गरेका हुन्।
फेसबुकमा पोखरेलले लेखेका छन्,
“लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्। राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौं। देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं।”