काठमाडौं । स्वदेशी दुग्ध उद्योगका रूपमा स्थापित स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले निकट भविष्यमा सर्वसाधारणमा आईपीओ (प्राथमिक सेयर निष्काशन) ल्याउने भएको छ। कम्पनीले धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी प्रचलित नियमअनुसार नियामक निकायबाट स्वीकृति लिएर आईपीओ ल्याउने तयारी गरेको हो।
यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
स्वस्तिक एग्रो इण्डष्ट्रिज दुग्ध तथा दुग्धजन्य उत्पादन—दही, घ्यू, चकलेट, पनिर लगायतका परिकार—मार्फत बजारमा स्थापित नाम हो। “गोठदेखि भान्सासम्म” भन्ने मूल नारासहित स्वदेशी उत्पादनलाई आत्मनिर्भर बनाउन लक्ष्यित यो कम्पनी हाल धनुषा जिल्लाको गोदारस्थित दुई बिघा जमिनमा जर्सी र होल्स्टिन जातका गाई पाल्दै आएको छ।
हाल कम्पनीले ३५ गाईमार्फत दैनिक २०० लिटरभन्दा बढी दूध उत्पादन गर्दै बजारमा आपूर्ति गरिरहेको छ भने छिट्टै ६५ गाई थप गरी १०० गाई पुर्याउने तयारी गरेको छ। दुग्धजन्य उत्पादनलाई व्यवस्थित प्याकेजिङसहित उच्चस्तरीय ब्रान्ड बनाउन कम्पनीले आगामी दिनमा प्याकेजिङ उद्योग स्थापना गर्ने योजना बनाएको छ।