मन्त्री घिसिङ र कोरियाली राजदूतबीच भेटवार्ता : ऊर्जा सहकार्यदेखि हरित हाइड्रोजनसम्म छलफल

nepaltext.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन आपसी सहकार्यका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।

ठूला जलाशययुक्त आयोजना र हरित हाइड्रोजनमा कोरियाली लगानीको आग्रह

मन्त्री घिसिङले नेपाल र कोरियाबीच लामो समयदेखि ऊर्जा र पूर्वाधार क्षेत्रमा रहेको सहकार्यलाई सराहना गर्दै आगामी दिनमा त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिए ।
उनीले ऊर्जा सन्तुलन र विद्युत निर्यातका लागि पाँच सय मेगावाटभन्दा ठूला जलाशययुक्त जलविद्युत आयोजनामा कोरियाली लगानी वा सरकार–सरकार तहको साझेदारी आवश्यक रहेको बताए ।

त्यस्तै, कोरियामा सफल मोडेल बनेको हरित हाइड्रोजन उत्पादनलाई नेपालमा नमुना परियोजनाको रूपमा विकास गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा प्रयोग गर्न सहयोग गर्न आग्रह गरे ।

रोजगारी र सीप विकासमा सहकार्यको प्रस्ताव

मन्त्री घिसिङले रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि गर्न तथा सीप विकास तालिमका कार्यक्रम सुदृढ गर्न आग्रह गरे ।
उनले कोरियाबाट फर्किएका कामदारले त्यहाँ सिकेको सीप स्वदेशमा प्रयोग गरी उद्यमशीलता र रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए ।

प्रसारण लाइन र रेलमार्गमा सहयोगको आग्रह

मन्त्री घिसिङले अरुण करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन परियोजनाका लागि कोरियाली एक्जिम बैंकबाट प्राप्त हुने आर्थिक सहयोग छिटो टुंग्याउन अनुरोध गरे ।
त्यस्तै, उनले रेलमार्ग निर्माण, सञ्चालन र मर्मत क्षमताको विस्तारमा पनि सहयोगका लागि आग्रह गरे ।

माथिल्लो त्रिशूली–१ आयोजनाको प्रगति र आभार

राजदूत पार्कले भेटमा कोरियाली सरकारी कम्पनीको लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी गराए ।
उनका अनुसार आयोजनाको निर्माण कार्य झन्डै ७० प्रतिशत पूरा भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेकथ्रु) तयारी भइरहेको छ ।
उक्त अवसरमा सहभागिता जनाइदिन उनले मन्त्री घिसिङलाई निमन्त्रणा दिए र आयोजनाको सफल प्रगतिमा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको सहयोगका लागि आभार व्यक्त गरे ।

कोरियाको निरन्तर सहयोगमा विश्वास

राजदूत पार्कले नेपालमा ऊर्जा क्षेत्रको विकास र कोरियाली लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्यमा सेमिनार आयोजना गर्न लागिएको जानकारी दिए ।
साथै, उनले प्रसारण लाइन निर्माणमा सहयोगका विषयमा अर्थ मन्त्रालयसँग पनि छलफल भइरहेको उल्लेख गर्दै भविष्यमा द्विपक्षीय सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया