काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेसँग गरिएको तालमेलप्रति पार्टीले संस्थागत स्वामित्व लिन नसकेको स्पष्ट पारेका छन्। कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र औपचारिक छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै गम्भीर आपत्ति जनाए। उम्मेदवारी छनोट प्रक्रियाबारे पनि उनले असहमति जनाउँदै बैठक बसेर निर्णय हुनुअघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको अवस्थालाई कांग्रेसको परम्परागत विधि र अभ्यासविपरीत भएको बताए।
यस क्रममा उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो ।’ थापाले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको उल्लेख गर्दै यस प्रकारको निर्णयशैलीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादामाथि प्रश्न उठाएको संकेत गरे।