एमाले महाधिवेशनअघि पदाधिकारी संख्या बढाउने रणनीति ल्याउने ओलीको तयारीमा

nepaltext.com

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमै जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पदाधिकारीको संख्या बढाउने रणनीति अघि सारेका छन् । यद्यपि उनले यो प्रस्ताव प्रत्यक्ष रूपमा आफूले नउठाई निकटस्थ नेतामार्फत माहोल तयार गरिरहेको एक नेताले बताएका छन् । आइतबारको बैठकमा विधान संशोधन गरेर अघि बढ्ने कि हाल कायम विधानकै कार्यान्वयन गर्ने भन्ने विषयमा ओली निकटका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन् ।

ती नेताका अनुसार अध्यक्ष ओलीले सिधै प्रस्ताव ल्याउँदा विरोध हुनसक्ने आँकलन गर्दै बैठकमा आफू निकटस्थलाई विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने पक्षमा धारणा राख्न लगाएका हुन् । सोहीअनुसार केन्द्रीय सदस्य खिमलाल देवकोटा र शेरबहादुर तामाङलगायत नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष रहने गरी पदाधिकारीको संख्या विस्तार गर्ने प्रस्ताव बैठकमा अघि सारेका छन्, जुन अहिले केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ ।

अध्यक्ष ओलीले बैठक हलमा प्रवेश गर्ने क्रममा समेत अब पदाधिकारी थपिने संकेत दिएको बताइन्छ । केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम जारी रहेकाले आजको बैठकले विधान संशोधन र पदाधिकारीको संख्याबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । यद्यपि एमालेकै ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको प्रस्तावप्रति असहमति जनाउँदै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया