चन्द्रपुर नगरपालिकाद्वारा सडक अतिक्रमण हटाउने अभियान सुरु

nepaltext.com

रौतहटको चन्द्रनिगाहपुरका मूख्य बजार क्षेत्रमा सडक र फुटपाथ अतिक्रमण गरेर सञ्चालन भइरहेको घुम्ती, ठेला तथा पसलहरु चन्द्रपुर नगरपालिकाले हटाउन थालेको छ ।

नगरपालिकाले पटक–पटक सूचना जारी गरी सडक र फुटपाथ खाली गर्न आग्रह गरे पनि कार्यान्वयन नभएपछि मंगलबार नगर प्रमुख सञ्जयकुमार काफ्लेको नेतृत्वमा टोलीले अतिक्रमण हटाउने कार्य थालेको हो। वडाअध्यक्ष रवि रानामगरका अनुसार बजार क्षेत्र तथा बसपार्क आसपास फलफुल पसल र फुटपाथ व्यवसायका कारण बस, इ–रिक्सा, म्याजिकलगायत सवारीसाधनको आवतजावतमा समस्या उत्पन्न भएको थियो।

यस अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत मुख्य चोकदेखि बजारसम्मको अतिक्रमण हटाइने जनाइएको छ।

फुटपाथमा व्यापार–व्यवसाय बढ्दा सटर व्यवसायी मर्कामा परेको गुनासो गर्दै उद्योग वाणिज्य संघ चन्द्रपुरले पनि फुटपाथ पसल बन्द गर्नुपर्ने अडान राख्दै आएको छ। तर, व्यवसायीहरुले सुरक्षित स्थानको व्यवस्था मिलाई वैकल्पिक व्यापार गर्ने वातावरण नगरपालिकाले बनाइदिनुपर्ने माग राखेका छन्।

नगरप्रमुख काफ्लेले भने, “नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन यो अभियान आवश्यक छ। सडक सबैको साझा सम्पत्ति हो, यसलाई निजी स्वार्थमा प्रयोग गर्न पाइँदैन। नगरपालिकाले यस अभियानलाई निरन्तरता दिनेछ,” भनेर स्पष्ट पारे।

प्रतिक्रिया