बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको पहलमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता

nepaltext.com

काठमाडौं ।
नेपालका सफल व्यवसायी तथा बुद्ध एयरलाइन्सका संस्थापक वीरेन्द्रबहादुर बस्नेतको पहलमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ राजनीतिक दल गठन भएको छ। बिहीबार निर्वाचन आयोगमा दर्ता भएको यो दललाई आयोगले ५०७ नम्बर दर्ता दिएको बताइएको छ। बस्नेतले मुलुकलाई गति दिने उद्देश्यसहित लोकतान्त्रिक धारको नयाँ दल स्थापना गरिएको बताएका छन्। उनका अनुसार, नेपालको राजनीतिक स्थिरता र समृद्धिका लागि निजी क्षेत्रको सोच, व्यावसायिक दृष्टिकोण र नीतिगत स्पष्टता आवश्यक भएकाले नयाँ दल गठन गरिएको हो।

गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा पर्यटन व्यवसायमा लामो समयदेखि संलग्न रहँदै आएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा समाजशास्त्री डा. दिनेश प्रसाईँ रहेका छन्। त्यस्तै, महामन्त्रीमा पियूस कायस्त चयन भएका छन्, जो विगत लामो समयदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थामा कार्यरत रहँदै आएका छन्। बस्नेत स्वयं भने हाल दलका साधारण सदस्यका रूपमा रहेका छन्। उनका निकट स्रोतका अनुसार, व्यवसायिक व्यस्तताका कारण उनी तत्काल नेतृत्वमा नभए पनि नीतिगत सल्लाहकारका रूपमा सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा छन्।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ – भदौ २४ ले देखाएको सम्भावना’ भन्ने मूल नारासहित गठन गरिएको यो दलले हालको राजनीतिक अनिश्चितता र सुशासनका चुनौतीबीच नयाँ विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ। बस्नेतका अनुसार, राजनीतिलाई पेशाको रूपमा हेर्ने प्रवृत्तिले देशलाई समस्यामा पारेको छ, त्यसैले फरक पेसा र व्यवसायिक सोच भएका व्यक्तिहरू राजनीतिमा आउनु अहिलेको आवश्यकता हो।

बुद्ध एयरलाई नेपाली आकाशमा सफलताको प्रतीक बनाएका बस्नेतले अब राजनीतिमा पनि आफ्नो योगदान दिने तयारी गरेको बताएका छन्। उनका शब्दमा, “व्यवसायमा जस्तै पारदर्शिता, अनुशासन र दीर्घदृष्टि राजनीतिमा पनि आवश्यक छ। गतिशील लोकतान्त्रिक पार्टी त्यही सोचको प्रारम्भ हो।”

प्रतिक्रिया