नेफिनको ११ औं महाधिवेशन: सचिवबाट उपाध्यक्षमा बढुवा हुँदै आङपासाङ्, अध्यक्षमा पूर्वमन्त्री निमाको चर्चा

nepaltext.com

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन यतिबेला नेतृत्व चयनको निर्णायक मोडमा आइपुगेको छ। काठमाडौँको स्वयम्भूस्थित स्टार ब्याङ्केटमा जारी बन्दसत्रमा नयाँ कार्यसमिति चयनका लागि व्यापक गृहकार्य भइरहँदा अध्यक्ष र खुला उपाध्यक्ष पदमा दुई प्रभावशाली नामहरू निकै चर्चामा रहेका छन्।

अध्यक्षमा निमा लामाको बलियो सम्भावना

बागमती प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका अनुभवी नेता निमा लामा अध्यक्षका लागि मुख्य दाबेदारका रूपमा अघि सरेका छन्। सिन्धुपाल्चोकका लामालाई सर्वसम्मत अध्यक्ष बनाउन सर्वपक्षीय छलफलहरू अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। उनको राजनीतिक अनुभव र जातीय मुद्धाप्रतिको स्पष्टताका कारण महाधिवेशन प्रतिनिधिहरू उनीप्रति सकारात्मक देखिएका छन्।

उपाध्यक्षमा आङपासाङ् शेर्पा लगभग पक्का 

त्यस्तै, खुला उपाध्यक्ष पदमा दोलखाका स्थापित नेता आङपासाङ् शेर्पाको नाम करिब निश्चित जस्तै देखिएको छ। जिरीका स्थायी बासिन्दा शेर्पा यसअघि महासंघको सचिवको भूमिकामा रहेर सफल कार्यसम्पादन गरिसकेका व्यक्ति हुन्। उनलाई नेपाल शेर्पा संघले मताधिकारसहितको आधिकारिक प्रतिनिधिको रूपमा पदाधिकारीका लागि अघि सारिसकेको छ। कांग्रेस राजनीतिमा समेत सक्रिय शेर्पाको सांगठनिक पकड र कार्यशैलीले उनलाई निर्विकल्प जस्तै बनाएको जानकारहरू बताउँछन्। 

अध्यक्षमा निमा लामा, मोहन छन्त्याल, जीवन हछाथु राइ, अमृत सुनुवार लगाएतले दाबी गरेपनि सर्बपक्षिय सहमति अनुसार निमा लामाकै सम्भावना बलियो रहेको महासंघले जनाएको छ । महासंघमा अध्यक्ष १, बरिष्ठ सहित ७ जना उपाध्यक्ष, महासचिब १ , उपमहासचिब १, कोषध्यक्ष १, सहकोशाध्यक्ष १ र २१ जना सचिब सहितको कार्यसमिति चयन हुने छ ।  महासंघमा अध्यक्ष १, बरिष्ठ सहित ७ जना उपाध्यक्ष, महासचिब १ , उपमहासचिब १, कोषध्यक्ष १, सहकोशाध्यक्ष १ र २१ जना सचिब सहितको कार्यसमिति चयन हुने छ । 

यस्तो छ महाधिवेशनको अंकगणित

चैत ५ गते कमलादीस्थित प्रज्ञा भवनमा भव्य उद्घाटन भएको यस महाधिवेशनमा देशभरका ५६ वटा जातीय संस्था र ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ। महाधिवेशनमा निम्न अनुसारका प्रतिनिधिहरू सहभागी छन् :

प्रतिनिधित्व क्षेत्रप्रतिनिधि संख्या
५६ जातीय संस्थाप्रति संस्था ४ जना
सचिवालय सदस्यहरू२१ जना
सम्बन्धन प्राप्त संगठनहरू१२ वटा
प्रवास संगठनहरू२४ वटा
सातै प्रदेशबाटप्रति प्रदेश ३ जना
७७ जिल्ला कार्यसमितिप्रति जिल्ला २ जना

सहमतिको प्रयास जारी

पहिचान र अधिकारको आन्दोलनलाई थप सशक्त बनाउन महासंघमा विवादरहित र सक्षम नेतृत्वको आवश्यकता रहेको प्रतिनिधिहरूले बताएका छन्। सम्भव भएसम्म सबै पदमा सर्वसम्मत गर्ने र नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व टुंगो लगाउने तयारीमा निर्वाचन समिति जुटेको छ। निमा लामा र आङपासाङ् शेर्पाको जोडीले महासंघलाई नयाँ उचाइ दिने विश्वास धेरैले व्यक्त गरेका छन्।

प्रतिक्रिया