एमाले महाधिवेशन: प्यानल सूची बदल्ने प्रयासमा एक जना पक्राउ

श्याम खतिवडा

२ पुस, काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी रहेको छ। मतदान स्थलमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखिएको छ भने विभिन्न समूहका नेता तथा समर्थकहरू प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्ना उम्मेदवारका पक्षमा मत मागिरहेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल नेतृत्वको समूहबीच प्यानल बनाएर प्रतिस्पर्धा भइरहेको छ र दुवै पक्षले आफ्ना उम्मेदवारहरूको सूची वितरण गर्दै चुनावी प्रचार गरिरहेका छन्। यही क्रममा मतदान केन्द्र आसपासबाट एक जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले अछामका शंकर सावदलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। एमाले कार्यकर्ताहरूले सावदले प्यानलका उम्मेदवारहरूको नाम परिवर्तन गरिएको सूची तयार गरी प्रचार गरेको आरोप लगाएका छन्। हाल उनलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया