काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै विशेष न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाएको छ। महिनौं लामो सुनुवाइपछि न्यायाधिकरणले उनीमाथि गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमन गर्न आदेश दिएको प्रमाणित भएको ठहर गर्यो।
हसिनासँगै उनका दुई शीर्ष सहयोगी—पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुन—लाई पनि जुलाई महिनामा भएको विद्यार्थी विद्रोहको समयमा मानवताविरुद्धका अपराधमा दोषी ठहर गरिएको छ।
७८ वर्षीया हसिनामाथि गत वर्ष अगस्ट ५ मा भड्किएको विद्यार्थी नेतृत्वको आन्दोलनलाई कठोर रूपमा दबाउन सुरक्षा निकायलाई घातक कारबाहीको आदेश दिएको आरोप छ। मुद्दा चलिरहँदा उनलाई बंगलादेश फर्कन न्यायाधिकरणले बारम्बार आदेश दिए पनि उनले भारतमै बसेर आदेश अवहेलना गरेको आरोपसमेत जोडिएको छ।