उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प: ३० घाइते, हजारौँ विस्थापित

nepaltext.com

टोकियो । सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा ३० जना घाइते पारेको छ भने हजारौँ मानिस सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयानुसार राति ११:१५ बजे आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा, ५० किलोमिटर गहिराइमा भूकम्प गएको हो। भूकम्पपछि जारी गरिएको सुनामी चेतावनी हटाइसकिएको भए पनि करिब ७० सेन्टिमिटर उचाइसम्मका छालाहरू देखिएका थिए।

कम्पनका कारण केही रेल सेवाहरू अवरुद्ध भएका छन् भने हजारौँ घरमा बिजुली आपूर्ति बन्द भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनहरूमा थप शक्तिशाली पराकम्प आउनसक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्। रोयटर्सका अनुसार करिब ९० हजार बासिन्दालाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ। आओमोरी प्रिफेक्चरल सरकारले करिब २,७०० घरमा बिजुली काटिएको जानकारी दिएको छ, जबकि पूर्वी जापान रेलवेले उत्तरपूर्वी तटका केही रुटमा सेवा स्थगित गरेको छ।

मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले जापानी सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रभित्र आपतकालीन प्रतिक्रिया कार्यालय स्थापना गरी उद्धार, राहत तथा क्षति मूल्याङ्कनका कामलाई अगाडि बढाएको बताए। उनका अनुसार, ‘हामी उद्धार र राहत कार्यहरू सहित क्षतिको आकलन गर्न र आपत्कालीन विपद् प्रतिक्रिया उपायहरू लागू गर्न हरसम्भव प्रयास गरिरहेका छौं।’ तोहोकु इलेक्ट्रिक पावर कम्पनीले हिगाशिदोरी र ओनागावा आणविक ऊर्जा केन्द्रहरूमा कुनै अनियमितता नदेखिएको जनाएको छ। जापानी अधिकारीहरूले आईएईएलाई पनि निष्क्रिय अवस्थामा रहेको फुकुशिमा आणविक ऊर्जा केन्द्रमा कुनै समस्या नदेखिएको जानकारी दिएका छन्।

स्मरण रहोस्, सन् २०११ मार्च ११ मा पूर्वी तटमा आएको ९.० म्याग्निच्युडको भीषण भूकम्प र त्यसपछि आएको सुनामीले फुकुशिमा क्षेत्र गम्भीर रूपमा प्रभावित भएको थियो। जापानकै सबैभन्दा शक्तिशाली मानिएको उक्त दूर्योगमा १८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

प्रतिक्रिया