काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन् । झापा–५ बाट उम्मेदवारी दर्तापछि उनले एमालेलाई नबिच्काउन सबैसँग आग्रह गरेका छन्। उम्मेदवारी दर्ता गर्ने क्रममा रास्वपाका कार्यकर्ताबाट असभ्य खालको क्रियाकलाप भएको उनले बताएका छन्। त्यस्तै, उनले चुनावमा आफ्नो पार्टी स्वस्थ प्रतिस्पर्धा गर्ने पक्षमा रहेको उल्लेख गरे। उम्मेदवारी दर्ता गर्ने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो। ओलीले भने, ‘यस्तो क्रियाकलाप सरकारबाट संरक्षितहरूले नै देखाएका हुन्। यस्तो नभए राम्रो हुन्छ। चुनाव शान्तिपूर्ण, स्वस्थ हुनुपर्छ।’
अर्कोतर्फ उनले देशमा आगो फैलाउनेहरूले नयाँ पुस्तामा भ्रम छरिरहेको टिप्पणी पनि गरे। पार्टीभित्र टिकट वितरणको विषयमा भएको असन्तुष्टि उनलाई थाहा नभएको उल्लेख गरेका छन्। ओलीले झापाका पाँचै क्षेत्र एमालेले जित्ने दाबी गर्दै प्रतिद्वन्द्वी कुनै पनि पार्टी छैन भनी बताए। यसबारे मतदाता र राजनीतिक विश्लेषकको चासो उच्च रहेको छ।