काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा पुनः स्थगित गरिएको छ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाइसकेका छन्। तर, रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
उक्त आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। यसअघि, सहकारी ठगीसम्बन्धी बिगो बमोजिमको रकम बुझाएर थुनामुक्त भएर मुद्दा लड्न पाउन भनी दायर गरिएको निवेदनमा उच्च अदालतले दुवै प्रतिवादीको मुद्दा संयुक्त रूपमा हेर्ने आदेश दिएको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरू विरुद्ध रु. १० करोड ९९ लाख ३६ हजार बराबरको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो भाग बराबर — रु. २ करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत निवेदनसहित पेश गरेका थिए।
जोशीले पनि सोही बराबरको जमानत रकम पेस गरे पनि दुवैको हकमा व्यक्तिगत जिम्मेवारीको स्पष्ट निर्धारण नभएकाले रिहा गर्न नमिल्ने आदेश गरिएको थियो।
हाल पुर्पक्षका लागि दुवै जना थुनामा छन्। लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने छविलाल जोशी भैरहवा कारागारमै रहेका छन्।