रास्वपासँग एकिकरण अभियान स्थगित गर्ने उज्यालो नेपालको निष्कर्ष

nepaltext.com

काठमाडौं । रास्वपा र उज्यालो नेपालबीच पार्टी एकताको च्याप्टर अन्ततः बन्द भएको छ। उनेपाको बिहीबार बसेको केन्द्रीय समितिको पाँचौँ बैठकले रास्वपाले ‘राजनीतिक बेइमानी’ गरेको निष्कर्षसहित अहिलेलाई एकताको सम्भावना सकिएको ठहर गरेको हो।

एक केन्द्रीय सदस्यले भने, ‘एकपछि अर्को शर्त थपेर रास्वपाले आफ्नो दुनो मात्र सोझ्याउने काम गरेको बैठकमा सबैजनाको एकमत रह्यो। अब अहिलेलाई कुनै छलफल नहुने भएपछि वार्ता गर्नैपरे सबै जिम्मेवारसहित कुलमानलाई नै अघि सार्ने अन्डरस्ट्याण्डिङ बनेको छ।’ बैठकमा कुलमान पनि सहभागी थिए। स्रोतले बताएअनुसार रविले इन्गेज गरेर अलमल्याएको मात्र ब्रिफिङ भएको थियो।

त्यसै नेता अनुसार, ‘रविले पछिल्लो समय जेलमा मान्छे बोलाउँदै भेट्ने र मिडिया ट्रायल गर्ने काम गरे। हामीलाई उपयोगमात्र गर्ने नीति लिएर भित्रभित्रै संगठन विस्तारमा लागे। वैकल्पिक शक्ति भन्ने तर अर्कालाई वैकल्पिक बन्न नदिनेतिर लागे। सहमति नजिक पुग्दा एकपछि अर्को अड्को थाप्ने काममात्र गरे।’

अन्तिमसम्म प्रयास गर्दा पनि रास्वपा सहमतिमा नआएको निष्कर्षसहित अहिले उनेपा संगठन विस्तार अभियानमा होमिएको छ। कर्णाली पुगेका नेता जिताराम लामाले संवाद प्रक्रिया स्थगित भएको स्वीकारे। उनले भने, ‘पछि पुन: कुराकानी हुनसक्छ। अहिलेलाई स्थगित भएको छ। हामी पार्टी निर्माण र संगठन विस्तारमा लागिसक्यौँ।’

रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र पुकार बम तथा उनेपाबाट गणेश घिसिङ, तारा जोशी र जितारामलगायतका नेताहरू निरन्तर संवादमा थिए। उनेपाका नेताहरूका अनुसार, कुलमान तयार थिए रवि लामिछानेलाई सभापति मान्न र घण्टी चिन्हमै एकता गर्न। तर, घिसिङले कार्यवाहक सभापतिमा अडान नछोडेको रास्वपा नेताहरूले दाबी गरेका छन्।

उनेपाका नेताले भने, ‘कुलमानजी हदैसम्म लचक हुनुहुन्थ्यो। रविजीलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक बस्न तयार हुनुहुन्थ्यो। तर, सहमति नजिक पुगेर पनि रास्वपाभित्रैबाट बिथोल्ने काम भयो।’ रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालमाथि पनि एकता गर्न नचाहेको आरोप लागेको छ। उनका अनुसार, कुलमान हावी हुने र आफू ओझेलमा पर्ने चिन्ताले सहमति अड्किएको हो।

रास्वपाका एक नेताले भने, ‘कुलमानजीलाई उपसभापति दिन पहिल्यै तयार थियौँ। तर केही समयका लागि कार्यवाहक नै चाहिन्छ भन्ने कुरा आयो। एकताका नाममा पार्टी बुझाउन हामी तयार भएनौँ।’ जेलमा रहेका रविका कारण कुलमानले चुनावसम्म पार्टी कमाण्ड गर्न खोजेको उनीहरूको जिकिर छ। तर, चुनावी तालमेलको सम्भावना भने जीवितै रहेको उनको भनाइ छ।

काठमाडौंका मेयर बालेन साहले पनि रवि र कुलमानलाई मिल्न सुझाव दिँदै समर्थन रहने बताएका छन्। उनले आफैँ कुनै कमिटीमा नरहने तर आफ्ना कोर टीमका केही सदस्य पठाएर समर्थनको सन्देश दिने योजना बनाइसकेका छन्। कुलमान पनि बालेनको साथ पाउनेमा विश्वस्त देखिन्छन्।

प्रतिक्रिया