गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साध्न हाम्रा नेता पक्राउ गरेकाे जेनजी–नागरिक अभियानको आरोप

nepaltext.com

काठमाडौंमा सोमबार संवाद डबलीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्माको पक्राउप्रति कडा आक्रोश व्यक्त गरेको छ। अभियानले राष्ट्रियताको विषयमा आवाज उठाएकै कारण वर्तमान सरकारले आफ्ना सहकर्मीहरूलाई विना कारण पक्राउ गरेको आरोप लगाएको छ। पत्रकार सम्मेलनमा बोल्दै अभियानका सचिव प्रकाश बमले नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा उभिँदा आफ्ना साथीहरूलाई गिरफ्तार गरिएको दाबी गरे। सरकार निरङ्कुशतातर्फ अघि बढेको आरोप लगाउँदै बमले भने, ‘संवैधानिक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दै राष्ट्रभक्ति आवाजको हत्या गर्ने निरङ्कुशता तर्फ सरकार जाँदैछ ।’ उनले पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार मागसमेत गरेका छन्।

त्यसैगरी, जेनजी अगुवा सुजन पौडेलले गत शुक्रबार राति कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा सोडारी र विश्वकर्मालाई लखेटी–लखेटी पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरे। गृहमन्त्री सुदन गुरुङ बहाली हुनुपूर्व नै आफ्नो टोलीलाई प्रहरी हिरासतमा गएर धम्काएको घटनाको स्मरण गर्दै पौडेलले गृहमन्त्रीको नियतमाथि प्रश्न उठाए। उनले गृहमन्त्रीले प्रतिशोध साधिरहेको आरोप लगाउँदै प्रश्न गरे, ‘हामीमाथि गृहमन्त्री सुदन गुरुङले बारम्बार प्रतिशोध लिनुपर्ने कारण के छ ।’ पौडेलले पनि आफ्ना साथीहरूलाई विनासर्त रिहा गरिनुपर्ने कुरामा जोड दिएका छन्।

यसै क्रममा अर्का जेनजी अगुवा उमेश चन्दले राष्ट्र हितका पक्षमा उठेका आवाजहरूलाई दबाउनुको साटो तिनको सही सम्बोधन गरेर मात्रै समस्याको हल हुने धारणा राखे। उनले राज्यले राष्ट्रभक्त युवाहरूलाई बिनाकारण हिरासतमा राखेर दुःख दिने कार्य जारी राखेमा आफूहरू थप सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया