२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाबीच विशेष महाधिवेशनलाई लिएर भेटवार्ता हुने भएको छ। यो भेटवार्ता नेता कोइरालाको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक गरेपछि तय भएको हो। कोइराला विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउन सक्ने आशंका राख्दै आएका थिए।
तर मंगलबार युवा नेताहरूसँगको छलफलमा उनले भनेका छन्, ‘मंसिरको सट्टा पुस अन्तसम्म अधिवेशन हुनुपर्यो। हुन सकेन भने के गर्ने? सेन्ट्रल कमिटीले निर्णय गर्ने, बहुमतको आधारमा होइन, सबै बडीले निर्णय गरेर विशेष अधिवेशनमा जाने।’
संस्थापन पक्ष नियमित महाधिवेशनका लागि सहमत नभएपछि विशेष महाधिवेशन निर्विकल्प विकल्प बनेको छ। महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा २७ मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव गरिसकेका छन्। आजको भेटवार्ता प्रमुख एजेन्डा मिलाउन र सबै पक्षसँग संवाद गर्नको लागि आयोजना गरिएको हो। हालसम्म भेटवार्ताको समय र स्थान सार्वजनिक गरिएको छैन।