काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक ३४.२२ अंकले बढ्दै २,६००.३८ विन्दुमा पुगेको छ। यसअघि लगातार तीन दिन बढेको नेप्से बुधवार सामान्य करेक्सनमा परेर २,५६६.१६ विन्दुमा रोकिएको थियो।
आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले, फ्लोट इन्डेक्स २.३७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेका छन्। परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ।
बिहीबार ३१९ कम्पनीका ५३ हजार ११२ पटकको कारोबारमार्फत ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँभन्दा बढीको २ करोड ६० लाख कित्ता शेयर किनबेच भएको छ। बुधवारको कारोबार ५ अर्ब ४५ करोड रुपैयाँमा सीमित थियो।
यस दिन दुई कम्पनीका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था का शेयर १० प्रतिशतले बढेका हुन्। गुराँस लघुवित्तको शेयर प्रतिकित्ता मूल्य २,३१० रुपैयाँ र उन्नती सहकार्य लघुवित्तको शेयर २,००२.१० रुपैयाँमा बन्द भएका छन्।
त्यस्तै, सुपर माई हाईड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनी का शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेका छन्।
उता, एनआईबिएल सवल फण्ड को इकाई मूल्य सबैभन्दा धेरै घटेको छ। सो फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्ड को इकाई मूल्य ५.२४ प्रतिशतले घटेको छ।
कारोबार रकमका हिसाबले हिमालयन बैंकको संस्थापक शेयर अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक उकालो लागेको छ भने केवल म्यूचुअल फण्ड समूहमा गिरावट आएको छ। उपसमूहमध्ये हाइड्रोपावर उपसमूह २.६७ प्रतिशतले उक्लँदै अग्रस्थानमा रहेको छ। त्यस्तै विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।