सुनसरीको झुम्का कारागारमा पछिल्लो तीन दिनभित्र दुई कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार ५२ वर्षीय रामदेव उराँव र २४ वर्षीय सागर राई स्वास्थ्य समस्या देखिएपछि उपचारका क्रममा ज्यान गुमाएका हुन्। जेलर राम निरौलाका अनुसार दुवै कैदीमा अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो। नियमित स्वास्थ्य परीक्षणमा अक्सिजन लेभल कम पाइएको कारण उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा मृत्यु भएको निरौलाले जानकारी दिए।
उराँव कर्तव्यज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय काटिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि कारागारमा थिए। झुम्का कारागारमा हाल ब्लक ‘ए’ र ‘बी’ गरेर करिब १ हजार ८०० कैदीबन्दी रहेका छन्। यहाँ सुगर, प्रेसर, मुटु रोग, मानसिक समस्या, श्वासप्रश्वाससम्बन्धी रोगलगायत विभिन्न स्वास्थ्य समस्या भएका कैदीको संख्या पनि उल्लेख्य छ। निरौलाका अनुसार करिब १५० जना दीर्घरोगी छन् जसको नियमित स्वास्थ्य परीक्षण भइरहे पनि, हाल निधन भएका दुवै कैदी भने दीर्घरोगी थिएनन्।
कारागारमा कैदीहरूको भीडभाडका साथै अन्य जिल्लाबाट समेत बिरामी स्थानान्तरण हुने भएकाले स्वास्थ्य चुनौती थपिएको प्रशासनले जनाएको छ।