काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घट्दै २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको थियो भने सोमबार ५.८० अंकले घट्दै २५६०.२९ विन्दुमा झरेको थियो । आज बजार परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ । मंगलबार ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरका ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच भएका थिए भने आज ३२१ कम्पनीका ८४ लाख ४ हजार ६ सय कित्ता शेयर ६६ हजार ८२४ पटकको कारोबारमार्फत ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँमा किनबेच भएका छन् ।
यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले, फ्लोट इन्डेक्स १.३३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०९ अंकले घटेका छन् । बजारमा भुगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दिपुर केबलकारका शेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएका छन् । भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढ्दै ६८२ रुपैयाँमा पुग्दा दरमखोला इनर्जीको शेयर मूल्य भने सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेर ५२२.१० रुपैयाँमा सीमित भएको छ । त्यस्तै, माबिलुङ इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ८.२१ प्रतिशतले घट्दै ५१६.२० रुपैयाँमा झरेको छ ।
कारोबार रकमका आधारमा आज साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरका शेयरहरू अग्रस्थानमा रहेका छन् । १३ उपसमूहमध्ये यसदिन केवल उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ भने बाँकी १२ उपसमूहमा गिरावट आएको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.३५ प्रतिशतले घटेको छ । यस्तै, अन्य केही उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन् भने बाँकी उपसमूहमा गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।