विरगंजको जनस्वास्थ्य चिन्ताजनक बन्दै, १ सय १४ जनामा हैजा संक्रमण पुष्टि

nepaltext.com

वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै १ सय १४ पुगेको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, मंगलबार रातीसम्म यी सबैमा हैजा पुष्टि भएको हो।

वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण भर्ना भएका बिरामीको सङ्ख्या ४२२ पुगेको छ। तीमध्ये २ सय २३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।

महानगरपालिकाले दूषित खानेपानीलाई प्रमुख कारण मान्दै पानीका नमुना संकलन गरी परीक्षण गरिरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० मध्ये ८ नमुनामा हैजा पुष्टि भएको छ भने बाँकी २ नमुनाको रिपोर्ट आउन बाँकी छ।

सङ्क्रमण फैलिन थालेपछि वीरगञ्ज महानगरले सबै विद्यालय थप तीन दिन बन्द गर्ने निर्णय गरेको छ। शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ।

महानगरपालिकाले सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।

चिकित्सकहरूले सर्वसाधारणलाई निम्न कुरामा ध्यान दिन आग्रह गरेका छन्:

- सुरक्षित पानी उमालेर मात्र पिउनु।

- खुला शौच नगर्नु।

- व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनु।

प्रतिक्रिया