नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बढ्दो आवागमन र गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिँदै उनले सुस्ताका सीमावासी नेपाली जनतालाई राज्य र सरकार आफ्नो साथमा रहेको बलियो अनुभूति गराउन आवश्यक रहेको कुरामा जोड दिइन्। सांसद काउचाले प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने विवादास्पद अभिव्यक्तिपछि भारतीय एसएसबीका अधिकारीहरू पटक–पटक सुस्ता क्षेत्रमा आउन थालेको दाबीसमेत गरिन्। प्रधानमन्त्रीको सोही भनाइलाई लिएर व्यङ्ग्य गर्दै उनले भनिन्, ‘पश्चिम नवलरासी सुस्ताका सीमा रक्षक नेपालीलाई हामीसँग सरकार छ भन्ने अनुभूति दिनुपर्छ । संयोग पनि भयो, प्रधानमन्त्रीले नेपालले पनि सीमा मिचेका छ भनेर अभिव्यक्ति दिएपछि घरीघरी भारतीय एसएसबी सुस्तामा आइरहेका छन्। सायद प्रधानमन्त्रीज्यूले भनेको मिचिएको सीमा खोज्न आएका होलान्,’
संसदमा बोल्दै सांसद काउचाले जेठ १७ गतेपछि पुनः जेठ २९ गते पनि भारतीय एसएसबीका अधिकारीहरू सुस्ता क्षेत्रमा प्रवेश गरेको र त्यहाँका स्थानीय बासिन्दाले ठूलो साहसका साथ उनीहरूलाई फर्काएको जानकारी दिइन्। एसएसबीका अधिकारीहरू पुनः आउने चेतावनी दिएर फर्किएको उल्लेख गर्दै उनले नेपाली भूमिको रक्षा र सीमा सुरक्षाका लागि सरकारको तयारी के छ भनी प्रश्न उठाएकी छन्। सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै उनले भनिन्, ‘फेरि आउने भन्दै गएका एसएसबीलाई सुस्तामा पस्नै नदिन सरकारले के गरिरहेको छ ? सरकारले संसदलाई जवाफ दिनुपर्छ ।’