१७ पुस, विराटनगर l सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्। बिहीबार राति करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय स्थानीय विजय साहको मृत्यु भएको हो। भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर फर्कँदै गरेका साहलाई घर नजिकै सशस्त्र प्रहरीले गोली चलाएको थियो, जसबाट उनलाई दुई राउण्ड गोली लागेको जनाइएको छ।
घटनापछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्डमा शव राखेर प्रदर्शन सुरु गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण ठूला सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल मात्रै आवतजावत भइरहेको छ। घटनालगत्तै बिहीबार बिहान प्रहरीले स्थानीयसँग वार्ता गरे पनि सहमति हुन सकेन, र दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी रहेको छ।