काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महसुस भएको बताएका छन् ।
आइतबार ‘संवाद र सञ्चारमा स्वजागरण’ सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारमा गएपछि आफूबीच “कित्ताकाट” भएको अनुभूति गरेको बताए ।
उनले भने, “म पत्रकार हुँदासम्म मेरो आकाश निकै फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न सोध्यौ भन्थे । तर मन्त्री बनेपछि मेरो आकाश साँघुरिएको छ, अहिले त सरकारवादी भएछु । पहिला सबैको थिएँ, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महसुस गरेको छु ।”
मन्त्री खरेलले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । उनले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि जोड दिए ।
उनका शब्दमा, “जब मैले राजनीतिमा पाइला राखें, त्यतिबेलै म तयार थिएँ— अब म सरकारमा प्रवेश गर्दैछु । मैले सोचे जस्तो मात्रै होइन, त्यो संसारभित्र म पस्यो भन्ने बुझिसकेको थिएँ । हाम्रो ठूलो समस्या के हो भने हामीले आफू को हौं र हाम्रो भूमिका के हो भन्ने कुरा बुझ्दैनौं । त्यसैले हामी बढी दुःखी हुन्छौं । पहिला आफू को हो र भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।”