शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठलाई ‘नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३’ प्रदान गरिने

श्याम खतिवडा

दोलखाको शैक्षिक, सामाजिक तथा समग्र विकासमा दीर्घकालीन र अतुलनीय योगदान पुर्‍याउनुभएका शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ यस वर्षको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३’ बाट सम्मानित हुनुहुने भएको छ।

नन्दप्रसाद जानुका फाउण्डेशनले प्रत्येक वर्ष २५ हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्र प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष ८८ वर्षीय श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी भदौ ४ गते, स्वर्गीय नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा इञ्जिनियर श्रेष्ठलाई सम्मान प्रदान गरिनेछ।

नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त इञ्जिनियर श्रेष्ठ गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट तथा गौरीशंकर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष हुनुहुन्छ। साथै, उहाँ सिंगटी सामुदायिक अस्पताल, दोलखा विकास मञ्च, रूपा फाउण्डेशन लगायत दर्जनौँ सामाजिक तथा शैक्षिक संस्थाका संस्थापकका रूपमा दोलखाको शिक्षा, स्वास्थ्य, सामाजिक विकास र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।

साविक पूर्व–२ नम्बर क्षेत्र ९हाल दोलखा० का शैक्षिक अगुवा तथा सामाजिक–राजनीतिक व्यक्तित्व स्वर्गीय नन्दप्रसाद शिवाकोटी र उहाँकी धर्मपत्नी जानुका शिवाकोटीको स्मृतिमा स्थापित फाउण्डेशनले यसअघि २०८१ सालमा पत्रकार शम्भु गौतम तथा २०८२ सालमा शिक्षासेवी मिलनराज तुलाधरलाई ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ प्रदान गरिसकेको छ।

प्रतिक्रिया