काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकछिन सरकारबाट हटेको भन्दै स्थायी रूपमा हटेको भ्रममा नपर्न सबैलाई चेतावनी दिएका छन्। बुधबार सम्पन्न केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन्।
ओलीले भने, “हामी सरकारबाट हट्यौं, तर कसैको व्यक्तिगत रुचि वा पार्टीप्रति असन्तुष्टिका कारण होइन। देशका लागि नेकपा एमाले आवश्यक छ। एकछिन सरकारबाट हट्दा स्थायी रूपमा हटेको भ्रममा नपर्नुहोस्।”
अध्यक्ष ओलीले पार्टीको काम राम्रो भएकै कारण निशानामा परेको बताए र सरकारमा रहँदा एमालेले देश र जनताको हितमा महत्वपूर्ण योगदान गरेको दाबी गरे। उनले कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध भएको भए पनि, संविधान जारी भएदेखि सरकारमा आउन नदिने प्रपञ्च सधैं देखिन आएको बताए।
२९ असोज २०८२, बुधबार १२:४३ मा प्रकाशित