काठमाडौं । साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक ओरालो लागेको छ। बुधबार नेप्से १३.५२ अंक कम हुँदै २६३१.१७ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ३.०३ अंक, फ्लोट इन्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०४ अंकले घटेको छ। सूचकहरू कमजोर भए पनि बजारको समग्र कारोबार रकम भने उचाइमा पुगेको छ। मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर किनबेच भएको छ। ३३२ स्टकका ६७ हजार ४८५ पटक भएका कारोबारमध्ये पाँचवटा स्टक सकारात्मक सर्किटमा पुगेका छन्। सागर डिष्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रीजका शेयरहरू सर्किटमा बन्द भएका हुन्। ओम मेगाश्री फर्मास्यूटिकल्सको मूल्य ७ प्रतिशतले बढेको छ भने बुङ्गल हाइड्रो पनि करिब ६.५ प्रतिशतले उक्लिएको छ। धेरै स्टकहरूको गिरावट ३ प्रतिशतभन्दा कम सीमामा रहेकाले बजारमा अत्यधिक दबाब नदेखिएको विश्लेषण छ। कारोबार रकममा बन्दीपुर केबलकार एण्ड टुरिजम १८ करोड ४९ लाख ७६ हजार रुपैयाँसहित शीर्षमा उक्लिएको छ, जसपछाडि १८ करोड रुपैयाँ बराबरको कारोबारसहित हिमालयन रि इन्स्योरेन्स परेको छ। १३ उपसमूहमध्ये ४ उपसमूहमा वृद्धि देखिएको छ, जसमा वित्त उपसमूह १.५९ प्रतिशतको वृद्धि सहित अगाडि रहेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूह पनि सामान्य रूपमा हरियालीमै रहेका छन्। विपरीत, जीवन बीमा उपसमूह १.१८ प्रतिशतले घटेको छ। यस दिनको बजार चलायमानताले आगामी कारोवारमा पनि उतारचढावको क्रम यथावत् रहने संकेत दिएको छ।